बेलायतको क्यान्सर रिसर्चले प्रकाशित गरेको नयाँ तथ्याङ्कले प्रत्येक वर्ष विश्वमा लगभग ४६ लाख पुरुष र ३५ लाख महिलाको क्यान्सरले गर्दा मृत्यु हुने गरेको खुलस्त पारेको छ । यस हिसाबले महिलाको दाँजोमा पुरुषलाई क्यान्सरको जोखिम अधिक रहेको देखिन्छ । यसैगरी, हरेक वर्ष विश्वमा लगभग १४ लाख मानिसमा क्यान्सर रोग निदान गरिन्छ । यसमा पनि महिलाको दाँजोमा पुरुष वर्गमा क्यान्सरको निदान २४ प्रतिशत बढी पाइएको छ । पुरुषलाई बढी जसो पिसाब थैलीको, फोक्सोको, कलेजोको र खाने नलीको क्यान्सर हुने गरेको छ र यी क्यान्सरको उपचार अत्यन्त कठिन हुन्छ । विश्वमा क्यान्सरले हुने गरेको मृत्यु पनि क्षेत्रगत रूपमा फरक छ । मध्य तथा पूर्वी युरोपमा क्यान्सरले पुरुषको मृत्यु अधिक हुन्छ भने पूर्वी अफ्रिकामा महिला बढी मर्ने गरेका छन् । विश्वमा सबैभन्दा बढी क्यान्सरले हुने मृत्युमा फोक्सो, कलेजो, आमाशय र ठूलो आन्द्राको क्यान्सरलाई मुख्य दोषी पाइएको छ ।